तुलसीपुर, दाङ । डल्फिन फिड्स प्रा. लि. द्वारा आज आयोजित व्यावसायिक कुखुरा पालन सम्बन्धी तालिम १५० जनाको उल्लेखनीय सहभागितासहित सफलतापूर्वक सम्पन्न भएको छ। स्थानीय किसानलाई कुखुरा पालनलाई अझ व्यावसायिक, आधुनिक र प्रविधिमुखी बनाउने उद्देश्यले आयोजना गरिएको उक्त तालिममा सहभागी किसानहरूलाई विभिन्न महत्वपूर्ण पक्षमा विस्तृत प्रशिक्षण प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ।

तालिममा दाना व्यवस्थापन, स्वास्थ्य सुरक्षा (बायोसेक्युरिटी), उत्पादन वृद्धि उपाय, बजार व्यवस्थापन, व्यावसायिक जोखिम न्यूनीकरण तथा कुखुरा पालनका आधारभूत सीप जस्ता विषयमा पोल्ट्री कन्सल्टेन्ट तथा विज्ञहरूले प्रभावकारी रूपमा प्रशिक्षण दिएका थिए।

कार्यक्रम कम्पनीका तर्फबाट बजार विभाग प्रमुख लोकेन्द्र ओझाको संचालनमा सम्पन्न भएको थियो। दाङका विभिन्न क्षेत्रका कुखुरा व्यवसायी तथा कुखुरा पालन सुरु गर्न इच्छुक किसानहरूको सक्रिय सहभागिताले तालिम थप प्रभावकारी बनेको आयोजकको धारणा छ। सहभागीहरूले तालिमले उत्पादन वृद्धि, रोग नियन्त्रण तथा सञ्चालन क्षमता अभिवृद्धिमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका थियो ।

Dolphin Group को ‘कृषक लक्षित कार्यक्रम—व्यावसायिक किसान बनाउने अभियान’ अन्तर्गत आयोजना गरिएको आजको तालिम किसानहरूको ज्ञान, सीप तथा क्षमतामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

यसैक्रममा, डल्फिन फिड्स प्रा. लि. का प्रतिनिधिहरूले आगामी दिनमा पनि किसानहरूको रोजगारी, आयवृद्धि तथा व्यवसायिक उन्नतिलाई मध्यनजर गर्दै यस्ता प्राविधिक तथा व्यावसायिक तालिम निरन्तर संचालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।










