२०८२ बैशाख ५ गते शनिवार

तुलसीपुर–३ राणागाँउस्थित सतिघाटमा युवाहरु मिलेर शवदाह गृह निर्माण अहिले सम्म ७ लाख संकलन



दाङको तुलसीपुर–३ राणागाँउस्थित सतिघाटमा युवाहरु मिलेर शवदाह गृह निर्माण गर्न थालेका छन् । शवदाह गृह नहुदा घटना दुर्घटना तथा अन्य विभिन्न कारण मृत्यु भएकाहरुको शव जलाउन समस्या भइरहेको छ । सोही समस्यालाई मध्यनजर गर्दै स्थानिय युवाहरुले रकम संकलन गरेर शवदाह गृह निर्माणको काम गर्न थालेका हुन् । स्थानिय राजेन्द्र कुमार महतराको अध्यक्षतामा एउटा निर्माण समिति नै गठन गरेर सतिघाटमा शवदाह गृह निर्माण भइरहेको छ । अहिलेसम्म झण्डै ७० प्रतिशत काम सम्पन्न भएको समितिका सचिव शंकर भुषालले जानकारी दिनुभयो । उहाँका अनुसार देश तथा विदेशमा रहेका विभिन्न सहयोगी दाताहरुबाट संकलन भएको करिब ७ लाख रुपैयाँँबाट शवदाह गृह निर्माणको काम थालिएको हो ।

उक्त स्थानमा सवदाह गृहको आवश्यकता भएपनि स्थानिय सरकारले चासो नदेखाएपछी आफ्नो गाउँ आफै बनाउँ भन्ने उदेश्यका साथ आफुहरु शवदाह गृह निर्माणमा अगाडी सरेको समितिका कोषाध्यक्ष नारायण डाँगीले बताउनुभयो । निर्माण सम्पन्न गर्न झण्डै १४ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको उहाँको भनाई छ । रकम अपुग हने देखिएकाले इच्छुकले अझैपनि सहयोग गर्न सक्ने उहाँले बताउनुभयो । शवदाह गृह निर्माणमा स्थानियहरुले पनि श्रमदान गरिरहेका छन् । सो स्थानमा शवदाह गृह नहुदा विशेषगरी बर्खाको समयमा शव जलाउन धेरै समस्या हुने गरेकोमा अब शवदाह गृह निर्माण भएसँगै तुलसीपुर–३ का राणगाँउ, गोटिखोला लगाएतका स्थानियलाई यो समस्या अन्त्य हुने अपेक्षा गरिएको छ ।।

प्रकाशित मिति : २०८१ पुष १२ गते शनिवार