२०८१ माघ ५ गते आइतवार

आज एकादशी, तुलसीका बिरुवा सारिंदै



प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महीनासम्म गरिने विशेष पूजा सुरु गरिँदैछ। एक महीनाअघि जेष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा शुक्रबार मोठमा सारिन्छ। सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ। आजदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ।

आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महीना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको हो।

भगवान् विष्णु शयन गर्ने चार महीनालाई चतुर्मासा पनि भनिन्छ ।एक वर्षमा २४ एकादशी पर्छन् ।सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् ।नसक्नेले चतुर्मासाका चार महीनामा पर्ने आठ एकादशीमा व्रत बस्छन् ।कामकाजमा सक्रिय हुनुपर्ने र चार महीनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन्।

एकादशीका दिन विशेषगरी चामलबाट बनेका परिकार नखाई रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ। वैज्ञानिकरूपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा समेत प्रयोग गरिन्छ।

प्रकाशित मिति : २०८१ साउन १ गते बुधवार