राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई सबै जिम्मेवारीबाट हटाएपछि पूर्वमहामन्त्री मुकुल ढकालले पार्टीभित्रका सबै कर्तुत खोल्ने दाबी गरेका छन् । सबै जिम्मेवारीबाट मुक्त गरिएका ढकालले आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्दैछन् ।
अनामनगरको टिम्मुरे रेष्टुरेण्टमा ३ बजे कार्यक्रम राखिएको छ । त्यसैक्रममा उनले पार्टी सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछानेको सबै कर्तुत खोल्ने दाबी गरेका छन् । ढकालले केही दिनअघि सभापति लामिछानेलाई समीक्षा यात्रापछिको प्रतिवेदन बुझाएका थिए ।
प्रतिवेदनमा पार्टी सञ्चालन र सभापतिको कार्यशैलीप्रति कडा आलोचना गरिएको छ । हिजो बसेको केन्द्रीय समितिको बैठकले उनलाई साधारण सदस्य मात्रै रहनेगरी महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाएको छ । त्यस्तै उनलाई पुनरावेदनका लागि ३५ दिनको समय दिइएको छ ।
प्रकाशित मिति : २०८१ असार २६ गते बुधवार