२०८१ माघ १ गते बुधवार

बिजयनगर ३ पत्थरदेइया जल उपभोक्ता सिँचाई आयाेजनाकाे अनुगमन



कपिलवस्तुकाे विजयनगर गाउँपालिकाकाे वडा नम्बर ३ मा रहेकाे पत्थरदेइया जल उपभोक्ता सिँचाई आयाेजनाकाे अनुगमन गरिएको छ । सुरई खाेलाबाट सञ्चालित सिँचाई आयाेजना विजयनगर गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापा र ३ का वडा अध्यक्ष हृदय विकास चाैधरीले शनिबार अनुगमन गरेका हुन् ।

गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले अनुगमनकाे क्रममा किसानहरुले माग गरे अनुसारकाे कामलाई निरन्तरता दिने बताए । उनले थप केही नहरकाे मर्मत तथा स्तराेन्नतीकाे लागि गाउँपालिकाबाट सहयोग गर्ने बताए । यस सिँचाई आयाेजनालाई थप व्यवस्थित बनाउन आवश्यक रहेकाे भन्दै उपभोक्ता समितिलाई सक्रियता देखाउन आग्रह समेत उनले गरे ।

वडा कार्यालय ३ नम्बरको ८ लाखकाे लगानीमा ६ किलाे मिटर बढीमा नहर मर्मत भइरहेको वडा अध्यक्ष हृदय विकास चाैधरीले जानकारी दिए । उनले अधिकांश वडाका किसानले यस सिँचाई आयाेजनाबाट फाइदा लिन सक्ने बताउँदै यस वडाकाे गाैरवकाे याेजनाकाे रुपमा रहेकाे बताए ।

पत्थरदेइया जल उपभोक्त सिँचाई आयाेजनाका अध्यक्ष भुइधर पासीले यस सिँचाई आयाेजनाबाट १ हजार बढी (घरधुरी) किसान लाभान्वित हुने जानकारी दिए । उनले यस वडाभित्रका पत्थरदेइया, मयनारी, परसहवाडिहवा, महदेइया र कृष्णनगर नगरपालिकाकाे सुखरामपुरका किसानले सिँचाई आयाेजनाबाट प्रत्यक्ष लाभ लिन सक्ने बताए ।

यस्तै जल उपभोक्त संस्थाका सचिव अजय कुमार मिश्रले सिँचाई आयाेेजनाका कामलाई निरन्तरता दिएकाे बताए । उनले बजेट अभावले नहरकाे स्तराेन्नतिमा समस्या भईरहेकाे भन्दै थप बजेटकाे माग गरे ।

अनुगमन कार्यक्रममा जल उपभोक्ता समितिका पदाधिकारी, स्थानीय देवेंद्रमणि त्रिपाठी लगायतको किसानहरुको पनि उपस्थिति थियो ।

प्रकाशित मिति : २०८० मङ्सिर ३० गते शनिवार