२०८१ माघ २४ गते शुक्रवार

जाजरकोट भूकम्पका पीडितलाई अभिनेता पल शाहले ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने



जाजरकोट भूकम्पका पीडितलाई अभिनेता पल शाहले ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेका छन् । तत्कालका लागि आफूले सामाजिक संस्था टीम नेपालबाट आर्थिक सहयोग प्रदान गरेको पलले सामाजिक संजालमा जनाएका छन् ।
उक्त संस्थाको राहत र स्वास्थ्य टोली जाजरकोट पुग्ने समेत पलले उल्लेख गरेका छन् । धेरै घर भत्केकाले नागरिक खुला आकाशमुनि बस्न र खानपिनको ब्यवस्था नभएको बताउँदै पलले सम्बन्धित निकायलाई आग्रह समेत गरेका छन् ।
यो दुःखद घडीमा सम्पूर्ण नेपाली एक भएर उद्दार र सहयोग गर्न समेत उनले आग्रह गरेका छन् । फिल्म निर्माता तथा निर्देशक आकाश अधिकारीले आफूसँग भएको ५०–७० थान त्रिपाल पीडितलाई सहयोग गर्ने जनाएका छन् ।
अभिनेत्री करिश्मा मानन्धरले पीडितको उद्दार र राहतमा जुट्न सरकारलाई आग्रह गरेकी छन् । चलचित्र विकास बोर्डका तर्फबाट अध्यक्ष भुवन केसीले जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत र उद्दारमा जुट्न अपिल गरेका छन् ।
फिल्म, संगीत, नाटक र फेसन जगतका सेलिव्रिटीले सामाजिक संजालमा जाजरकोट भूकम्पप्रति दुःख व्यक्त गर्दै राहत र उद्दारमा जुट्न सरकारलाई आग्रह गरेका छन् । नेपाल प्रहरीका अनुसार जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा शनिबार बेलुकासम्म १५७ जनाले ज्यान गुमाएका छन् भने १७० घाइते छन् ।

प्रकाशित मिति : २०८० कार्तिक १८ गते शनिवार