२०८० मङ्सिर २५ गते सोमवार

गंगादेव गाउँपालिकाका तत्कालीन उपाध्यक्ष रिता घर्तीसहित १३ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर



रोल्पाको गंगादेव गाउँपालिकाका तत्कालीन उपाध्यक्ष रिता घर्ती, निमित्त प्रमुख प्रशासकीय अधिकृत सकल देव यादवसहित १३ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

सोलार पम्पिङको खानेपानी निर्माण योजनामा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिएका छन्।

भ्रष्टाचारको आरोप लाग्नेहरूमा घर्ती र यादवसहित योजना अधिकृत कृष्णबहादुर घर्ती, तत्कालीन इन्जिनियर नवीन डाँगी, सबइन्जिनियर रोशनी विष्ट, खानेपानी तथा सरसफाइ टेक्निसियन बलबहादुर बस्नेत, उपभोक्ता समितिका अध्यक्ष मनबहादुर डाँगी, सचिव खडकबहादुर डाँगी र कोषाध्यक्ष चन्द्रकुमारी डाँगी छन्। त्यस्तै, तत्कालीन वडाध्यक्ष भुपाल दमाई, वडा सदस्य टिका विक, गनबहादुर भण्डारी र वडा सचिव कुलबहादुर योगीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ।

गंगादेव गाउँपालिका वडा–२ स्थित घोरानेटी खोलादेखि घोरानेटीसम्म सोलार पम्पिङ खानेपानी निर्माण योजनामा बढी रकम भुक्तानी भएको उजुरी परेको थियो। अनुसन्धान हुँदा सोलार पम्पिङ खानेपानी निर्माण योजनाको लागि आ.व. २०७६/०७७ मा गंगादेव गाउँपालिकाबाट लागत अनुमान तयार भई गंगादेव गाउँपालिकाबाट रकम विनियोजन भएको थियो।

रकम विनियोजन भएपछि उपभोक्ता समितिसँग सम्झौता भई उक्त योजनाको कार्य गर्दा वास्तविक भए गरेको कार्यभन्दा बढी कार्य गरेको भनी गलत प्रतिवेदन दिई दिन लगाई गलत नापी किताब तयार गरिएको अख्तियारको निष्कर्ष छ।

गलत नापी किताब अनुसार झुट्टा बिल भरपाई तयार गरी गर्न लगाई भए गरेको कार्यभन्दा बढी भुक्तानी नै गर्न नमिल्ने रु. ४ लाख ६६ हजार ४ सय ८८ रुपैयाँ ९८ पैसा भुक्तानी दिई गैरकानूनी हानिनोक्सानी पुर्‍याउने बद्नयतले उपभोक्ता समितिलाई भुक्तानी दिने–लिने कार्य गरे–गराएको पुष्टि भएको अख्तियारको आरोप छ।

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रेस विज्ञप्ति

प्रकाशित मिति : २०८० असोज १७ गते बुधवार