२०८१ बैशाख ६ गते बिहिवार

रोल्पाको गंगादेव गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष कृष्ण वलीको घरबाट इटालियन पेस्तोल बरामद



रोल्पा, ४ बैशाख ।
वडाअध्यक्षको घरबाट अवैध हतियार पेस्तोल बरामद गरिएको छ । रोल्पाको गंगादेव गाउँपालिका वडा नं. ४ का ३३ वर्षीय वडाअध्यक्ष कृष्ण वलीको घरबाट इटालीमा निर्मित ७.६५ अटो पेस्तोल र तीन राउण्ड गोली शुक्रबार बरामद गरिएको प्रहरी नायब उपरीक्षक श्याम सारुमगरले जानकारी दिए ।
अवैध हातहतियार लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय घर्तीगाउँ र प्रहरी चौकी पाखापानीबाट खटिएको प्रहरी टोलीले घरमा खानतलासी गर्दा घरको माथिल्लो तलामा माटोको डरीभित्र रातो बुट्टे रुमालजस्तो कपडाले बेरिएको अवस्थामा पेस्तोल फेला परेको प्रहरीको भनाइ छ । म्याग्जिनसहितको पेस्तोल थान एक र सोही कोठाको खाटमूनी चश्माको खोलभित्र तीन राउण्ड गोली फेला परेको थियो ।
वडाअध्यक्ष कृष्ण वली गाउँपालिका अध्यक्ष हरिबहादुर पुनमाथि आक्रमण गरेको आरोपमा गत बिहीबार नै पक्राउ परिसकेका थिए । गाउँपालिकाको बजेट बाँडफाँटको विषयमा विवाद परेपछि वडाअध्यक्ष वलीले गाउँपालिका अध्यक्ष पुन सवार रा१झ १९१ नम्बरको स्कारपियो सरकारी गाडीमाथि तोडफोड गरेका थिए । गाउँपालिका बैठकमा केही कार्यपालिका सदस्य र वडाअध्यक्ष कृष्ण वलीले लफडा गरेका थिए । गाउँपालिका अध्यक्ष हरिबहादुर पुन र वडाअध्यक्ष कृष्ण वली दुवै नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २०८० बैशाख ४ गते सोमवार