
दीपक बोहरा,
दाङ,१९ फागुन ।
दाङ तुलसीपुर उपमहानगरपालिकाले एक महिनामा करिब ३१ लाखको इन्धन खर्च गरेको पाईएको छ । गएको कात्तिक महिनामा ३१ लाख ९७ हजार ३ सय ३२ रुपैँया इन्धन खर्च भएको पाईएको हो । यो खर्च अस्वभाविक रहेको भन्दै लेखा समितिले प्रश्न चिन्ह उठाएको छ । उपमहानगरपालिका स्रोतका अनुसार लेखा समितिका संयोजक घनश्याम ढकालले नगरप्रमुख टिकाराम खड्कालाई बुझाएको प्रतिवेदनमा सो कुरा उल्लेख छ ।
कात्तिक महिनामा चाड पर्व पर्ने भएकाले विदा पनि पर्ने महिना हो । शनिबार र तिहार, छठ पर्वगरि ९ दिन विदा परेको थियो । सोही महिना नै बढि इन्धन खर्च भएको पाईएपछि यो विषय छानविन हुनुपर्ने लेखा समितिको ठहर छ ।‘योजना किताब भन्दा बाहिरको काममा हेभि गाडीहरु प्रयोग नहुँने गरि र अन्य हलुका सवारी साधनहरु समेत मितब्ययी रुपले प्रयोग हुने गरि इन्धन खर्च गर्न कार्यालयलाई सुझाब दिने निर्णय गरियो’, प्रतिवेदनमा भनिएको छ ।
त्यस्तै उपमहानगरपालिकाले चालु बर्षको माघ महिनासम्म १ करोड ५६ लाख २९ हजार २ सय ७१ रुपैँया बराबरको इन्धन खपत भएको छ । सोही मूल्य बराबरको इन्धनको विल पनि भुक्तानी भइसकेको छ । त्यस्तै थप ४० लाख बराबरको इन्धनको विल पेश भएपनि भुक्तानी भएको छैन ।
खरिदको नियम विपरित सवारी भाडामा
उपमहानगरपालिकाले खरिदको नियम विपरित हुने गरि विना प्रतिस्पर्धा गाडी भाडामा लिएको भन्दै त्यसमा पनि लेखा समितिले प्रश्न चिन्ह उठाएको छ । ६ वटा टिप्पर, एउटा जेसीवी, दुई वटा ट्याक्टर भाडामा लिएको छ, भने कार्यालयका सबै गाडीहरु पनि विकास निर्माणमा परिचालन गरेको छ । प्रतिस्पर्धा विना गाडीहरु भाडामा लिदा ठूलो रकम खर्च हुनेगर्छ ।