२०८० चैत्र १५ गते बिहिवार

ज्यान लियो अमेरिकाको सपनाले



रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर १० का एक युवकको अमेरिका जाने क्रममा मृत्यु भएको छ। अवैध तरिकाले अमेरिका छिर्न लागेका आठबिसकोट– १० भयाउनेका २० वर्षीय मदन शाहीको पानामाको जंगलमा मृत्यु भएको हो।

शाहीको डिसेम्बर ११ अर्थात् गत मंसिर २५ गते नै मृत्यु भएको थियो। पानामामा खोला तर्ने क्रममा भाइको बगेर ज्यान गएको ढिलो गरी जानकारी आएको उनका दाइ कपिल शाहीले जानकारी दिए। खोला तर्नका लागि राखिएको डोरी चुडिँदा खोलामा बगेर भाइको मृत्यु भएको जानकारी बिहीबार मात्र पाएको उनले बताए।

भाइको टोलीमा अन्य नेपाली नभएका कारण मृत्युको जानकारी आउन समय लागेको उनले बताए। उनका अनुसार भाइसँग गएका केही व्यक्तिलाई ब्राजिलबाट फर्काइएको थियो भने अन्य देशका टोलीसँग भाइ मात्र अवैध मार्ग हुँदै अमेरिकातर्फ गएका थिए।

मृतक मदन पाँच भाइमध्येका काइँला हुन्। उनी गत फागुन १८ गते अमेरिकाका लागि नेपालबाट निस्किएका थिए। अहिलेसम्म भाइका लागि करिब ४० लाख खर्च भइसकेको कपिलले बताए। भाइको शव नेपाल ल्याउन पहल भइरहेको र यसका लागि जेठा दाइ हर्क शाही काठमाडौं गएको उनको भनाइ छ।

यसअघि पनि अवैध तरिकाले अमेरिका जाने क्रममा तीन रुकुमेलीको मृत्यु भएको थियो। जिल्लाको मुसिकोट नगरपालिका– ५ का ४१ वर्षीय रमेश गौतम र बाँफीकोट गाउँपालिकाका २६ वर्षीय प्रदीप खत्रीको गत कात्तिक २५ गते मृत्यु भएको थियो। त्यस्तै, गत वर्ष बाँफीकोट गाउँपालिकाका रूपक बोहराले पनि बाटोमै ज्यान गुमाएका थिए।

प्रकाशित मिति : २०७९ पुष १५ गते शुक्रवार