
पुस २६
नेपालमा कोरोना संक्रमण दर ह्वातै बढेपछि गृह मन्त्रालयले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाउने व्यवस्था कार्यान्वयनका लागि निर्देशन दिएको छ।
मन्त्रालयले प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी प्रधान कार्यालय, सबै जिल्ला प्रशासन कार्यालय र मातहतका विभाग तथा निकायहरुलाई पत्राचार गर्दै कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले गरेका सिफारिसहरु कार्यान्वयन गर्न भनेको हो।
‘सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक, तथा धेरै जना उपस्थित हुनेगरी प्रशासनिक, सामाजिक एवं त्यही प्रकृतिको कार्यक्रम नगर्न आह्वान गर्ने। अत्यावश्यक नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउने र अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढी भेला हुनेगरी मेला, भेला तथा महोत्सवहरु आयोजना नगर्न नगराउन आवश्यक व्यवस्था गर्ने,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।