२०८१ चैत्र ७ गते शनिवार

“क्रमभंग” गर्ने भन्दै प्रचण्डले तयार पारे प्रतिवेदन



पुस ७
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादमा पुग्ने खाकासहितको राजनीतिक दस्तावेज राष्ट्रिय सम्मेलनमा पेस गर्ने भएका छन्।

पुस ११ गतेदेखि काठमाडौंमा हुने सम्मेलनमा पेस गर्ने दस्तावेजमा प्रचण्डले राष्ट्रिय/अन्तर्राष्ट्रिय परिस्थिति, देशभित्रका विभिन्न पार्टीको अवस्था समेत उल्लेख गरेका छन्।

एक महिनादेखि दस्तावेज लेखनकै लागि नेताहरुसँग छलफल गरिरहेका प्रचण्डले विश्वको अनुभव र नेपालको स्रोतसाधनलाई आधार बनाई समाजवादमै पुग्ने मार्गचित्र प्रस्तुत गर्ने माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश १ का इन्चार्ज राम कार्कीले बताए।

प्रचण्डसँग भएको छलफलमा समाजवादको व्याख्या गरेर, त्यहाँ पुग्ने योजना समेत ल्याउन लागिएको जानकारी दिइएको उनले बताए।
हामी संविधानमै समाजवाद उन्मुख व्यवस्था भनेर राख्न सफल भयौँ। तर कस्तो खालको समाजवाद? त्यहाँ कसरी पुग्न सकिन्छ? यी सबै कुरा मैले प्रतिवेदनमै ल्याउनेछु,’ प्रचण्डको भनाइ उद्धृत गर्दै कार्कीले नेपालखबरसँग भने, ‘त्यो दस्तावेजले पार्टीमा देखिएको गतिरोध मात्र हल हुँदैन, फेरि एकपटक माओवादीलाई स्थापित गराउने छ। यसले कोशेढुंगोकै रुपमा काम गर्नेछ।’

नेकपाबाट एमाले र माओवादीलाई छुट्याउने सर्वाेच्च अदालतको फैसलापछि ब्युँतिएको माओवादी केन्द्रले पहिलो पटक राष्ट्रिय सम्मेलन गर्न लागेको हो। सम्मेलनले अध्यक्षबाहेकका पदाधिकारी चयन गर्नुका साथै स्थायी समिति र पोलिटब्युरो पनि गठन गर्नेछ। त्यसबाहेक प्रचण्डको प्रतिवेदनले माओवादी केन्द्रको विचारधारा, राजनीतिक कार्यदिशा समेत प्रष्ट पार्नेछ।

‘समाजवादको व्याख्या गरेर मात्र पुग्दैन, अहिलेको परिवेशमा माओवादी केन्द्रको अवस्थालगायत तमाम विषयको जवाफ अध्यक्ष कमरेडको प्रतिवेदनमा आउनेछ,’ कार्कीले थपे।

प्रवक्ता कृष्णबहादुर महराले पनि शान्तिपूर्ण राजनीतिमा आएपछि पार्टी विचारशून्य भएको कुरालाई गहिरो ढंगले आत्मबोध गर्दै प्रचण्डले प्रतिवेदन तयार पारेको बताए।

‘हामी शान्तिपूर्ण राजनीतिमा आएपछि अन्य बुर्जुवा पार्टीजस्तै भएका छौँ, हामीले हाम्रा कार्यभार बिर्सेका छौँ, जनयुद्धमा साथ दिने जनता भुलेका छौँ,’ प्रचण्डको दस्तावेजको सार उल्लेख गर्दै महराले भने, ‘एकपटक फेरि जुझारु र क्रान्तिकारी पार्टी बनाउने संकल्प अध्यक्षको प्रतिवेदनमा हुनेछ।’देशभर पार्टी सदस्यता लिने संख्या बढेपछि प्रचण्ड निकै उत्साहित छन्। माओवादी केन्द्रको सदस्यता ८ लाख पुगेको र नयाँ रुपान्तरित पार्टी बनाउन त्यो संख्या काफी रहेको उनको विश्लेषण छ।

उनले आगामी चुनावमा देशको सबैभन्दा ठूलो पार्टी बन्ने योजनासहित अघि बढ्नुपर्ने बताउँदै आएका छन्।

‘विचारले प्रष्ट भएर आक्रामक रुपमा अघि बढ्यौँ भने हामीलाई कसैले रोक्न सक्दैन, हामीले जित्छौँ,’ प्रचण्डको भनाइ छ।

प्रकाशित मिति : २०७८ पुष ७ गते बुधवार