दाङको तुलसीपुरमा जनप्रतिनिधि र पत्रकारबीच रोमाञ्चक मैत्रीपूर्ण फुट्सल प्रतियोगिता सम्पन्न भएको छ। तुलसीपुर–९ दोघरेस्थित लुम्बिनी स्मार्ट स्कुलको आयोजनामा शुक्रबार खेल सञ्चालन गरिएको हो।
खेलमा विभिन्न वडाका जनप्रतिनिधि र पत्रकारहरूको सहभागिता रहेको थियो। प्रतिस्पर्धात्मक भिडन्तमा जनप्रतिनिधि टोली हावी बन्दै ५–२ गोलअन्तरले पत्रकार टोलीलाई पराजित गर्दै विजेता बन्न सफल भयो।
जनप्रतिनिधि टोलीले ५ गोल गर्दै आक्रामक खेल प्रस्तुत गर्दा पत्रकार टोलीले २ गोल फर्काएको थियो। विजेता टोलीलाई मेडल, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको कार्यक्रम निर्देशक कमल भण्डारीले जानकारी दिनुभयो।

विद्यालयका प्रधानाध्यापक वामदेव सापकोटाका अनुसार विद्यार्थीहरूमा खेलकुदप्रति आकर्षण बढाउने लक्ष्यसहित करिब ७० लाख रुपैयाँको लागतमा विद्यालयमै फुट्सल मैदान निर्माण गरिएको हो। खेलमैत्री वातावरण सिर्जना गर्न यस्तो पहल गरिएको उहाँले बताउनुभयो।








