
चैत २०,रुकुम पश्चिम / रुकुम पश्चिमको मुसिकोट नगरपालिका –४ ठाराढुङगामा आगलागी भएको छ । स्थानीय ठाराढुङगा सामुदायिक वनमा मंगलबार बेलुका आगलागी भएको हो । करिब पाँच बजेतिर लागेको आगो अहिलेसम्म नियन्त्रणमा आउन नसकेको मुसिकोट नगरपालिकाका नगर प्रहरी ईन्चार्ज उमेश केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार आगो नियन्त्रणका लागि नगर प्रहरी, डिभिजन वन कार्यालयका कर्मचारीहरु, नेपाल प्रहरी र स्थानीयवासीहरु लागि परेका छन् । चार घण्टा भन्दा बढी समयसम्म आगो नियन्त्रणमा आउन नसकेको र फैलदै गएपछि चण्डीदल गण सल्लेबाट नेपाली सेनाको टोली आगो नियन्त्रणका लागि आईपुगेको केसीले जनाउनुभयो ।
आगलागीबाट सामुदायिक वन क्षेत्रमा ठुलो क्षति भएको छ । के कति क्षति भयो भन्ने विवरण आगलागी नियन्त्रणमा आएपछि मात्र संकलन गर्न सकिने बताईन्छ । वनमा लागेको आगो गाउँसम्म फैलिने डरमा स्थानीयवासीहरु रहेका छन् ।