२०८३ बैशाख २९ गते बुधवार

राप्ती प्रादेशिक अस्पतालको नाममा राष्ट्रीय सूचना आयोगबाट कारण देखाउ आदेश जारी




तुलसीपुर, ५ भदौ

दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालको नाममा राष्ट्रिय सूचना आयोगबाट कारण देखाउ आदेश जारी भएको छ । प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. ओम अर्यालले सूचनाको हकको अवज्ञा गर्दै माग गरेको सूचना उपलब्ध नगराएपछि राष्ट्रिय सूचना आयोगबाट कारण देखाउ आदेश जारी भएको हो । सूचनाको हक प्रयोग गरेर पत्रकार चेतन वलीले गत जेठ १६ गते अस्पतालका सूचना अधिकारी भुषण सुवेदीसँग इमेल मार्फत सूचना माग गर्नुभएको थियो । तर, सूचना अधिकारी सुवेदीले मे.सु. बाट आदेश आएपछि मात्रै सूचना दिन सकिने बताउँदै उक्त सूचना उपलब्ध नगराएपछि गत असार ८ गते अस्पतालका निमित्त मे.सु. ओम अर्यालको नाममा चिठी पठाएर सूचना माग गरिएको थियो भने पटकपटक फोन मार्फत पनि जानकारी गराइएको थियो । तर, अस्पतालका निमित्त मे.सु. अर्यालले पनी सूचना नदिने मनसायले आलटाल गर्दै म्याद गुजारेपछि यही श्रावण १७ गते पत्रकार वलीले राष्ट्रिय सूचना आयोगमा पुनरावेदन दिनुभएको थियो । यही श्रावण २२ गते राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्र मान गुरुङको संयोजकत्वमा सूचना आयुक्तहरू कमला वली थापा र रत्नप्रसाद मैनालीको उपस्थितमा बसेको इजलासले उक्त पुनरावेदनको सुनुवाई गर्दै सूचनाको हक सम्बन्धी दफा १० को (२) बमोजिम सूचना उपलब्ध नगराउनुको कारण लिखित रुपमा पेश गर्नु भनी आदेश जारी गरेको राष्ट्रिय सूचना आयोगका सूचना अधिकारी सुदर्शन ढकालले जानकारी दिनुभएको छ । ७ दिन भित्र अस्पतालले सूचना उपलब्ध नगराउनुको कारण लिखित रुपमा पेश गरेपछि अध्ययन गरेर फेरी सूचना उपलब्ध गराउनु भनी अस्पतालको नाममा आदेश हुने आयोगका सूचना अधिकारी ढकालले बताउनुभएको छ । त्यसपछि पनि सूचना उपलब्ध नगराएमा नियमानुसार कारवाही हुने सूचना आयोगले जनाएको छ । नेपालको संविधान २०७२ को धारा २७ को सूचनाको हक सम्बन्धी महलमा प्रत्येक नागरिकलाई सार्वजनिक सरोकारको विषयको सूचना माग्ने र पाउने हक हुने छ भन्ने व्यवस्था छ । तर डा. अर्यालले कानुनको धज्जी उडाउँदै अटेरी गरेपछि पत्रकार वली सूचना आयोगसम्म पुग्नु भएको हो । पत्रकार वलीले कर्मचारी भर्ना सम्बन्धी कार्यविधि वा सोका विवरण खुल्ने प्रमाणित प्रतिलिपी, करारमा स्टाफ नर्स, फार्मेसी सहायक, अहेव र कार्यालय सहयोगी मा १० दिनको समय राखेर प्रथम पटक मिति २०७९÷१२÷२३ गते सूचना प्रकाशित गरेर ३१ जना कर्मचारी भर्न गर्दा रात्रिकालीन समयमा मौखिक अन्तरवार्ता गर्नुको कारण खुल्ने लिखित विवरण, कार्यालय सहयोगी (कास) लाई लिखित गराउनुको कारण खुल्ने लिखित विवरण लगायतका सूचनाहरू उपलब्ध गराउन माग गर्नुभएको थियो । डा अर्याल अस्पतालको जिम्मेवारी पाएदेखिनै विवादीत हुँदै आएका छन् ।

प्रकाशित मिति : २०८० भाद्र ५ गते मङ्गलवार