२०८१ कार्तिक १९ गते मङ्गलवार

व्यक्तिगत जग्गा मिचेर सडक बनाएपछि बीच सडकमै खम्बा गाडियो



चन्द्रौटा

 कपिलवस्तुको शिवराज नगरपालिका–५ नौडिहवामा कालोपत्रे गरेको सडकको बीचबाट खम्बा गाडिएको छ । स्थानीय मनिराम थारुले आफ्नो जग्गामा सडक बनाएको भन्दै बीच भागमै खम्बा गाडेपछि आवतजावतमा समस्या भएको छ ।

कालोपत्रे गर्दा आफूलाई कसैले पनि नबोलाएको र पछि नापजाँच गर्दा सडक आफ्नो जग्गामा परेको थारुले बताए । ‘कुनै जानकारीविना सडक निर्माण भयो, मेरो अधिकांश जग्गा सडकमा परेको छ’, थारुले भने, ‘यसरी कसैको जग्गामा सडक बनाउने अधिकार छैन ।’

नौडिहवाको दक्षिणतर्फ रहेको कालोपत्र सडकमै खम्बा गडेपछि त्यस सडकमा सवारी साधन चलाउन र हिँडडुलसमेत गर्न नसकिने अवस्था छ ।

सडक बनाउँदा नापजाँच भए पनि पछि पुनः थारुले नापजाँच गर्दा फरक देखिएको स्थानीय छविलाल बञ्जाडेले बताए । उक्त क्षेत्रमा जग्गा प्लटिङ गरेको कम्पनीसँग छलफल गरेर निर्णय गरिने बञ्जाडेले जनाए ।

सडकमै खम्बा गाड्नु गैरजिम्मेवार रहेको स्थानीय सुरेन्द्र चौधरीले बताए । नापी गर्ने निकायले फरक–फरक नापी गर्दा स्थानीयमा विवाद र समस्या निम्त्याएको चौधरीले बताए । सडकको बीचमा खम्बा हुँदासम्म सरोकार निकाय मौन रहेकाले छिटोभन्दा छिटो निकास हुनुपर्ने उनको भनाइ छ

प्रकाशित मिति : २०७९ फाल्गुन १४ गते आइतवार