
२९साउन,दाङ/ लमही नगर विकास समितिले रातोडाँडामा नयाँ शहरको योजना बनाउँदै गर्दा एक विगाहा जग्गा सभागृहको लागि छुट्याएको थियो । बजेट अभावका कारण जग्गा छुट्टिए पनि सभागृह निर्माणको काम अघि बढेको थिएन तर अब त्यो जग्गामा सभागृह बन्ने भएको छ । शहरी विकास मन्त्रालयको बजेटबाट सभागृह बन्ने भएको हो । प्रदेश तथा केन्द्रस्तरका ठूला सभा सम्मेलन सञ्चालन गर्न लमहीमा सभाहलको अभाव छ । त्यो अभाव हटाउन प्रदेश र केन्द्रस्तरका ठूला सभाहरु सञ्चालन गर्न सहयोग पुग्ने उद्देश्यले सुविधासम्पन्न सभागृह निर्माण गर्न थालिएको हो ।
त्यो अभाव हटाउन प्रदेश र केन्द्रस्तरका ठूला सभाहरु सञ्चालन गर्न सहयोग पुग्ने उद्देश्यले सुविधासम्पन्न सभागृह निर्माण गर्न थालिएको हो । शहरी विकास मन्त्री मेटमणि चौधरीले सभागृहको शिलान्यास गरेका छन् । लमही नगर विकास समितिको एक विगाहा जग्गामा सभागृह निर्माण हुने र यो सभागृहले समग्र दाङको आर्थिक विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । शहरी विकास मन्त्री मेटमणि चौधरीले सभागृहले देउखुरीको आर्थिक विकासमा योगदान गर्ने बताए । शहरी विकास मन्त्रालयको १८ करोड बजेटबाट लमहीमा सभागृह निर्माण शुरु हुने र तीन वर्षभित्र सम्पन्न हुने मन्त्रालयका सचिव डा। रमेशप्रसाद सिंहले बताए ।
नगर विकास समितिका अध्यक्ष तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले लमहीको आर्थिक विकासमा सभाहलले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । ‘हामीले सभाहल बनाउने योजना बनाएका थियौं तर बजेट थिएन । अहिले मन्त्रालयले बजेटको व्यवस्था गरेकोमा हामी खुशी छौं’– चौधरीले भन्नुभयो– ‘निर्माण सम्पन्न भएर सञ्चालन हुने आशामा छौं ।’ नगर विकास समितिले करिब ५३ करोडको लागतमा सभागृह निर्माण हुने डिपियार तयार पारेको छ । करिब एक हजार मानिस अट्ने क्षमताको सभाहल बन्ने र त्यसभित्र डिजिटल सुविधाको व्यवस्था गरिने मन्त्रालयले जनाएको छ । ‘हामीले डिपिआर तयार पारेका छौं । त्यो स्वीकृत हुन बाँकी छ’– लमही नगर विकास समितिका सवइञ्जिनियर तुलसीराम अर्यालले भन्नुभयो– ‘सभागृहको लागि जग्गा छुट्याएर राखेका थियौं । अब त्यही जग्गामा सभागृह बन्नेछ ।’ सभागृह शिलन्यास कार्यक्रममा मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंह, महानिर्देशक सुरेन्द्रमान श्रेष्ठ, लमही नगर पालिकाका प्रमुख जोगराज चौधरी, उपप्रमुख लक्ष्मी योगीलगायतको सहभागिता थियो ।