२०८२ बैशाख ५ गते शनिवार

स्थानीय निर्वाचन: नेत्रविक्रम चन्द विप्लव नेतृत्वका दल अनिर्णित,सिके राउतको जनमत पार्टीले भाग लिने




माघ २५

आगामी जेठभित्र स्थानीय तहको निर्वाचन तयारी भइरहँदा नेपालका दुई वटा पार्टीको सहभागिताबारे चासो र चर्चा सुरु भएको छ।

यसअघि निर्वाचनमा सहभागी नभएका सिके राउत नेतृत्वको जनमत पार्टी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी अहिले मूलधारको राजनीतिमा छन्।

अघिल्लो स्थानीय निर्वाचन जनमत पार्टीले बहिस्कार गरेको थियो भने नेकपा माओवादीले निर्वाचन बिथोल्ने निर्णय गरेको थियो।

तर के यी दुवै दलले अबको स्थानीय निर्वाचनमा भाग लिएर मूलधारको राजनीतिमा अवतरणलाई निरन्तरता देलान्?


जनमत पार्टीको योजना
केही वर्ष स्वतन्त्र मधेस गठबन्धनका बनाएर पृथकतावादी अभियानमा लागेका कारण पटक-पटक पक्राउ परेका राउत विसं २०७५ फागुनमा सरकारसँग सहमतिपछि मूलधारको राजनीतिमा आएका थिए।

अघिल्लो संसदीय निर्वाचन बहिस्कार गर्दा जनकपुरबाट पक्राउ परेका राउतले नेतृत्व गरेको जनमत पार्टीका कार्यकर्ताले गत माघ १२ गते सम्पन्न राष्ट्रियसभा निर्वाचनमा पनि अवरोध पुर्‍याउने प्रयास गरेका थिए।

तर जेठमा हुने भनिएको स्थानीय तहको निर्वाचनमा भने यो पार्टीले सहभागिता जनाउने तयारी गरिरहेको अध्यक्ष राउतले एक संचार माध्यमलाई बताए।

राउतले भने, “हामी स्थानीय निर्वाचनमा सहभागी हुन्छौँ र हामीले त्यसको तयारी गरिरहेका छौँ।”
यो पार्टीले आफ्नो प्रभाव क्षेत्र मधेस प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र प्रदेश १ का स्थानीय तहमा उम्मेदवारी दिने तयारी गरिरहेको जनाएको छ।

चन्द नेतृत्वको माओवादी निर्वाचनको विपक्षमा


सरकारले प्रतिबन्ध लगाएपछि भूमिगत राजनीतिक गतिविधि गर्दै आएको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी गत वर्षको फागुनमा सरकारसँग भएको सहमतिपछि खुला राजनीतिमा आएको छ।

सरकारसँग भएको सहमतिमा चन्दले शान्तिपूर्ण राजनीतिमा आउने सहमति जनाएका छन् भने तत्कालीन प्रधानमन्त्री केपी ओलीले चन्दका कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता गर्ने र जेलमा भएका कार्यकर्ताको रिहाइ गर्ने सहमति गरेका थिए।

तर सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै उक्त पार्टीका नेता सन्तोष बुढामगरले अहिलेकै स्थितिमा आफूहरू निर्वाचनमा जाने सम्भावना नरहेको बताएका छन्।

“हामी जसरी केन्द्रीय सहमतिबाट खुला राजनीतिमा आएका छौँ, हामी विरुद्धका मुद्दाहरू फिर्ता भएका छैनन् र हाम्रा साथीहरू अझै जेलमै छन्,” बुढामगरले भने।

“अहिलेको अवस्थामा हामी चुनावमा जाँदैनौँ। यो व्यवस्थामै सहभागी बन्दैनौँ।”उक्त पार्टीका नेताहरूबीच पनि निर्वाचनमा सहभागी हुने विषयमा मतभेद रहेको बताइन्छ। पार्टीको केन्द्रीय समिति बैठकबाट आगामी रणनीति तय गर्ने भनिए पनि बैठक बस्न सकेको छैन।

निर्वाचन प्रयोजनका लागि चन्द नेतृत्वको नेकपा माओवादी निर्वाचन आयोगमा समेत दर्ता प्रक्रियामा सहभागी नभएको उनले बताए।

पार्टीको बुझाइ नै अहिलेको संसदीय व्यवस्थाबाट समाधान हुँदैन भन्ने रहेकाले जनमत सङ्ग्रहबाट व्यवस्था परिवर्तन नभएसम्म निर्वाचनमा जानुको औचित्य नहुने बुढामगरको भनाइ छ।

तर निर्वाचन घोषणा भए त्यसलाई कसरी उपयोग गर्ने भन्नबारे पार्टीमा छलफल भएपछि मात्रै निर्णय गरिने उनले जानकारी दिए।

प्रकाशित मिति : २०७८ माघ २५ गते मङ्गलवार