२०८१ माघ २४ गते शुक्रवार

रोनाल्डोको दुई गोलमा म्यानचेस्टर युनाइटेड विजयी



भाद्र २७।
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले सानदार जित हात पारेको छ।

शनिबार भएको खेलमा म्यानचेस्टरले न्युकासल युनाइटेडलाई ४-१ गोलले पराजित गर्‍यो।

म्यानचेस्टरको जितमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे भने ब्रुनो फर्नान्डेज र लिङ्गार्डले एक एक गोल गरे।

१२ वर्षपछि म्यानचेस्टरमा फर्किएका रोनाल्डोले पहिलो खेल खेलेका हुन्। जसमा उनी दुई गोल गर्न सफल भए।

उनी यो सिजन इटालियन क्लब युभेन्ट्सबाट म्यानचेस्टरमा आबद्ध भएका हुन्।

सन् २००९ मा स्पेनिस क्लब रियल म्याड्रिड जानुअघि रोनाल्डो म्यानचेस्टरमा आबद्ध थिए।

शनिबार रोनाल्डोले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए। ५६ मिनेटमा न्युकासलका जाभियर मानक्युलोले बराबरी गोल फर्काए।

६२ मिनेटमा रोनाल्डोले ब्यक्तिगत दोस्रो गोल गर्दा युनाइटेडले दोस्रो पटक अग्रता लिन सफल भयो। युनाइटेडका लागि ८० मिनेटमा फर्नान्डेज तेस्रो गोल र दोस्रो हाफको इन्जुरी टाइममा लिङ्गार्डले चौथो गोल गरे।

यता म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई १-० गोलले पराजित गरेको छ। सिटीको जितमा बर्नान्डो सिल्भाले ६२ मिनेटमा गोल गरे।

आर्सनलले भने पहिलो जित निकाल्ने क्रममा नर्वीचलाई १-० गोलले हराएको छ। टोटेनहम भने क्रिस्टल प्यालेससँग ३-० गोलले पराजित भएको छ।

अंक तालिकामा म्यानचेस्टर युनाइटेड ४ खेलबाट १० अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको म्यानचेस्टर सिटी, तेस्रो स्थानको ब्राइटन र चौथो स्थानको टोटेनहमको समान ९-९ अंक छ।

प्रकाशित मिति : २०७८ भाद्र २७ गते आइतवार