२०७९ मङ्सिर १६ गते शुक्रवार

‘घर त फालियो–फालियो, व्यवसाय गर्न राखेका ढेब्लीमा पनि डोजर लगाइयो’ :तुलसीपुर बसपार्कका पीडित



तुल्सिपुर श्रावण २७
दिपक बोहरा
बजार अव्यवस्थित भएको भन्दै २०७६ जेठमा तुलसीपुर बसपार्कमा १७ घर भत्काइयो । सडक विस्तारका लागि भन्दै दाङ–सुर्खेत सडकखण्डको घोराही रोडदेखि बसपार्क आसपासमा सडक मापदण्ड भन्दा बाहिर रहेका सबै घर भत्काउने सहमति अनुसार ति घर भत्काएको भएपनि अहिलेसम्म अन्य घर नभत्काएको पीडितहरुले गुनासो छ । ‘सडक साँघुरो भएकाले व्यवस्थित र फराकिलो सडक बनाउने भन्दै हाम्रो दुई÷तीन तलाका घर हटाइयो, तर, हाम्रो भन्दा अरुका घर फालिएन’, पीडित धनबहादुर बुढाले भने ।

सडकका घर भत्काउने सन्दर्भमा कुरा नमिलेपछि अहिले हात्तिखौवादेखि विरेन्द्रचोकसम्म विस्तार गर्ने भनेको चारलेन घोराही रोडमै सीमित गरिएको भन्दै कसैलाई काखा र कसैलाई पाखा गरेको उनको गुनासो छ । दाङ–सुर्खेत सडकखण्ड अन्तर्गत घोराही रोडचोकदेखि बसपार्कसम्म धेरै घरहरु सडक मिचेर बनाएको भएपनि कसैका घर पनि भत्काउन आँट नगरेको अर्का पीडित तेजबहादुर बिकले बताए ।

त्यतिबेला बसपार्क पिपलबोटा ओरालोका १७ जनाको घर भत्काएको भएपनि १० जनाले घर भत्काएर बाँकी रहेको जग्गामा अर्को नयाँ घर निर्माण गरे । उनीहरु त्यहीमा‘सेटल्ड’ भइसकेका छन् । बाँकी सातजनामध्ये अन्य दुई जना त्यहाँबाट विस्तापित भइसकेका छन्, भने ५ जना अलपत्र अवस्थामा छन् । धनबहादुर बुढा क्षेत्री, पथबहादुर बुढाथोकी, कमल साहु, तेजबहादुर विक र कर्णबहादुर डाँगी त्यहाँका पीडित व्यवसायी हुन् । उनीहरुले पहिले आफ्नै घरमा व्यवसाय गरेका थिए । अहिले घर फालेपछि व्यवसाय गर्ने ठाउँपनि नभएको बताउँछन् । उनीहरुको व्यवसाय चौपट छ । सामानहरु घरभित्र थन्काउनु पर्ने अवस्था रहेको छ ।

घर भत्काउने क्रममा घरबारविहीन भएकाहरुलाई बसोबासका लागि व्यवस्था मिलाउने तथा व्यसायीहरुका लागि उचित स्थानमा व्यवसाय गर्न दिने सम्झौता भएको थियो । तर, त्यो सहमति कार्यान्वयन नभएको भन्दै पीडितहरु आक्रोशित भएका छन् । ‘हामी पाँचै जना व्यवसायी हौं, हामीलाई उचित व्यवसाय गर्ने व्यवस्था मिलाउने सहमति भएको हो’, पीडित व्यवसायी पथबहादुर बुढाथोकीले भने‘ तर, हाम्रा घर भत्काएको २६ महिना वित्यो, हामीलाई उद्दार गर्ने विषयमा कुनै चासो दिएको छैन ।’
व्यवसाय ठप्प भएपछि केही दिनअघि आफूहरुले तुलसीपुर बसपार्कको खाली ठाउँमा ठेब्ली राखेर व्यवसाय गर्न सुरु गरेको भएपनि उपमहानगरपालिकालको डोजर आएर फालिदिएको गुनासो पनि उनीहरुको छ । ‘हामी पाँच जनाले पाँच वटा ढेब्ली राखेका थियौ, एउटा ढेब्ली बनाउन डेढलाख लगानी भएको छ, तर त्यो पनि फालिदियो’, पीडित कमल साहुले भने ‘नजिकै उपमहानगरपालिकाले कोशेली घर बनाएको छ । त्यो कोशेली घरले सडकलाई कुनै अवरोध नहुने, त्यो भन्दा पछाडी राखेका हाम्रा ठेलाहरुले सडकलाई असर गर्ने पनि हुन्छ र?’ त्यो कोशेली घरमा राख्न पनि उनीहरुले माग गरेका थिए, तर आफूहरुलाई थाहै नदिएर कोशेली घरमा अरु व्यवसायी राखेको समेत उनीहरुको गुनासो थियो ।

प्रकाशित मिति : २०७८ साउन २७ गते बुधवार